नेपाल बार एशोसिएशनको ३४
औं केन्द्रीय कार्यकारिणी परिषद्बाट मिति २०६७।२।२९ गते जारी गरिएको
दोलखा घोषणापत्र
आम नेपाली जनताले प्रतिक्षा गरिरहेको संघिय लोकतान्त्रिक गणतन्त्र तथा
प्रतिस्पर्धात्मक तथा समावेशी शासन व्यवस्था, जनतामा निहित राजकीय र सार्वभौमसत्ता,
संवैधानिक सर्वोच्चता, विधिको शासन, बालिग मताधिकार र आवधिक निर्वाचन, आर्थिक
सामाजिक तथा सांस्कृतिक अधिकार समेत समावेश भएको मौलिक हक सहितको संविधान निर्धारित
मिति भित्रै जारी गर्नु पर्ने प्रतिवद्ध व्यक्त गर्दै,
स्वतन्त्र, सक्षम, उत्तरदायी र जवाफदेही न्यायपालिका, प्रेस स्वतन्त्रता, समावेशी
शासकीय ढांचा तथा महिला, मधेशी, जनजाती तथा सिमान्तकृत र अल्पसंख्यक साथै दलित तथा
शारीरिक र मानसिक रुपमा असक्षम व्यक्तिहरुको अधिकारलाई पूर्ण रुपमा प्रत्याभूत
गरिएको राष्ट्र्यि एकता सुदृढ हुने संविधान जारी हुनु पर्ने मान्यतामा दृढ रहंदै,
राजनैतिक सहमतिको आधारमा शान्ति प्रक्रियालाई अविलम्व टुंगो लगाउंदै निर्धारित
मितिमा संविधान जारी गर्न संविधानसभा तथा सम्बद्ध राजनैतिक दलहरुको गम्भिर
ध्यानाकर्षण गराउंदै,
ने.बा.ए.का विगतका घोषणापत्र र प्रतिवद्धता प्रति अझ दृढ रह्दै,
२०६७ साल जेष्ठ २८ र २९ गते दोलखामा सम्पन्न ३४ सौं केन्द्रीय कार्यकारिणी परिषदको
उद्दघाटन सत्र, बन्दसत्र, प्रस्तुत कार्यपत्र तथा सहभागीहरुद्धारा व्यक्त
धारणाहरुलाई मध्यनजर गर्दै निम्न बमोजिम दोलखा घोषणापत्र जारी गर्दछौं ः
१. विस्तृत शान्ति सम्झौताद्धारा स्थापना गरिएको शान्ति प्रक्रियालाई अन्तिम टुंगोमा
पु(यार्ई संक्रमणकाललाई अन्त्य गर्न शान्ति सम्झौतामा उल्लेखित कार्यहरुलाई तत्काल
सम्वोधन गर्दै २०६७ साल जेष्ठ १४ गते अन्तरिम संविधानमा संशोधन गरी थप गरिएको समय
भित्रै संविधान जारी गर्ने र सोही दिन भएको तीन बुदे समझदारीको कार्यान्वयन गर्न
शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यतालिका बनाई राजनैतिक सहमति सहित
निर्धारित समयमा संविधान जारी गर्न नेपाल बार एशोसिएशन संविधानसभा र सम्बद्ध
राजनैतिकदलहरुलाई जोडदार आव्हान गर्दछ ।
२. विस्तृत शान्ति सम्झौता र हतियार तथा सेना सम्बन्धी सम्झौता अनुसार माओवादी
सेनाका लडाकुहरुलाई सुरक्षाफौजमा समायोजन र पुनस्र्थापना गर्न तत्काल राजनैतिक सहमति
गर्न ने.बा.ए. आव्हान गर्दछ ।
३. सशस्त्र द्धन्द र त्यसपछि कव्जा वा नियन्त्रणमा लिइएका घर जग्गा र अन्य सम्पत्ति
उचित प्रक्रिया बमोजिम तत्काल फिर्ता गर्न ने.बा.ए. आव्हान गर्दछ ।
४. सशस्त्र द्धन्दको बेला भएका गम्भिर मानव अधिकार उल्लंघनको सम्बोधन गर्न विस्तृत
शान्ति संझौता र अन्तरिम संविधानमा उल्लेख गरिएका वेपत्ता आयोग, सत्य निरुपण तथा
मेलमिलाप आयोग गठन गर्न र पिडितहरुलाई न्याय प्रदान गर्न परिपुरणका कार्यक्रमहरु
तत्काल लागु गर्न ने.बा.ए. माग गर्दछ ।
५. निर्माणाधिन संविधानमा स्वतन्त्र, निष्पक्ष, सक्षम, जवाफदेहीपूर्ण र
भ्रष्टाचारमुक्त न्यायपालिका बमोजिमको प्रावधान उल्लेख गर्न ने.बा.ए. आव्हान गर्दछ
।
६. नेपालको न्यायपालिका पुराना कानून, अपरिभाषित वा अपूर्ण रुपमा परिभाषित अपराध,
झन्झटिला कार्यविधि दक्षता प्राप्त नभएका मानवीय संशाधन, अपर्याप्त पूर्वाधार र
फैसलाहरुको कार्यान्वयनबाट प्रभावित रहेको परिप्रेक्ष्यमा न्यायपालिका र नेपाल
सरकारलाई सम्बन्धित कानून र संस्थागत सुधार गर्न ने.बा.ए. आव्हान गर्दछ ।
७. जिल्ला न्यायाधीशहरु नियुक्त गर्दा कानून व्यवसायीहरुबाट अन्तरिम संविधानको भावना
बमोजिम न्यायाधिशहरुको नियुक्त गर्ने प्रक्रिया तुरुन्त प्रारम्भ गर्न ने.बा.ए. पुनः
आव्हान गर्दछ ।
८. संविधानमा उल्लेख भएबमोजिम कानून व्यवसायीले आफ्नो पेशा व्यवसाय निर्वाधरुपमा
स्वतन्त्र ढंगले गर्न पाउनु पर्ने हकको प्रत्याभूति गर्दै देशभरिका कूनै पनि कानून
व्यवसायीहरु माथि हुने डर, धाक धम्की र आक्रमणको खतरा प्रति गम्भिर चांसो राख्दै
सम्बन्धित सबै पक्षहरुलाई कानून व्यवसायीको स्वतन्त्रता र सुरक्षाको सम्मान गर्न
ने.बा.ए. आव्हान गर्दछ ।
९. कानून व्यवसायीको पेशा विस्तार, क्षमता अभिवृद्धि तथा विस्तापित कानून
व्यवसायीहरुलाई विशेष व्यवस्था गर्ने विषयमा निरन्तर क्रियाशिल रहन यो परिषद्
ने.बा.ए.लाई निर्देश गर्दछ ।
१०. देशका विभिन्न भागमा विद्यमान रहेको असुरक्षाको अवस्था, हत्या, अपहरण तथा
जर्वजस्ती चन्दा जस्ता विषयहरुलाई तत्काल सम्बोधन गर्दै मानव अधिकारको सम्मान गर्न
र विद्यमान दण्डहिनताको अन्त्य गर्न कानून व्यवस्था र कानूनको शासनलाई अवलम्वन गर्न
तथा दण्डहिनतालाई निरुत्साहित गर्न ने.बा.ए. नेपाल सरकारलाई आव्हान गर्दछ ।
११. शान्ति प्रक्रियालाई निर्णायक बनाउन तथा संक्रमणकालको क्रममा भएका विभिन्न
सम्झौता र सहमतिको कार्यान्वयन गर्न ने.बा.ए. जोडदार आव्हान गर्दछ । त्यस्ता सम्झौता
र सहमतिको कार्यान्वयन गर्न आवश्यक परेमा सहजकर्ता र सहयोगीको भूमिका निर्वाह गर्न
यो परिषद ने.बा.ए.लाई निर्देश गर्दछ ।
१२. ने.बा.ए.का विभिन्न परिषदबाट जारी भएका घोषणापत्र र पारित भएका प्रस्तावहरु
कार्यान्वयनको लागि आवश्यक पहल गर्न ने.बा.ए.लाई निर्देश गर्दछ ।
घोषणापत्र प्रस्तुतकर्ता
हरिप्रसाद उप्रेती
मुकुन्द शर्मा पौडेल
रमनकुमार श्रेष्ठ
विनोद नेपाल
भवसागर सुवेदी
हरि फूयाल
श्यामजी प्रधान
शान्ता सेढाई (सापकोटा)
सतिश कुमार झा